सप्तरी । राजविराज नगरपालिकाले मुख्य बजार क्षेत्रको सडक अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । हनुमान मन्दिरदेखि नेता चोकसम्मको सडकखण्डमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचनाहरू डोजर प्रयोग गरेर भत्काउन थालिएको हो ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनका अनुसार सडक स्तरोन्नति तथा सौन्दर्यीकरणलाई प्राथमिकता दिँदै अतिक्रमित क्षेत्र खाली गराउने काम अघि बढाइएको हो ।
“सडकको बीच भागबाट दायाँ बायाँ ९–९ मिटर गरी कुल १८ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचना हटाइँदैछ,” उनले भनिन् । स्थानीय प्रशासनको समन्वयमा बुधबार बिहानदेखि अभियान औपचारिक रूपमा सुरु गरिएको हो ।
अतिक्रमण हटाएसँगै सडक डिभिजन कार्यालयमार्फत ठेक्का भइसकेको निर्माण कार्यलाई तीव्रता दिइने नगरपालिकाले जनाएको छ । राजविराजको मुख्य बजार क्षेत्रको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो ।
स्तरोन्नति नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । अहिले नगर नेतृत्वले सडक सुधारलाई प्राथमिकतामा राखेपछि स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
स्थानीयवासी एकता चौधरीका अनुसार कार्यवाहक नगरप्रमुख परविनले जिम्मेवारी सम्हालेपछि विकास निर्माणका कामहरू अघि बढ्न थालेका छन् । “वर्षौंदेखि अलपत्र सडकको स्तरोन्नतिका लागि उनी सक्रिय देखिनुभएको छ,” उनले भनिन् ।
नगरपालिकाले अतिक्रमण हटाउने कार्यसँगै व्यवस्थित, फराकिलो र सुरक्षित सडक निर्माण गरी बजार क्षेत्रको स्वरूप परिवर्तन गर्ने लक्ष्य राखेको जनाएको छ ।




