सर्लाही । सर्लाहीको कविलासी नगरपालिका २ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहिबार एसईई सञ्चालन भइरहँदा मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कविलासी नगरपालिका ५ पचगछिया बस्ने मनोज यादव रहेको सर्लाही प्रहरीले जनाएको छ ।
परीक्षा केन्द्र बाहिर बसिरहेका उनको मोबाइलमा एसईई अन्तर्गत बिहिबार सञ्चालन भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र रहेको सुनिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यादवको साथमा रहेको मोबाइलबाट प्रश्नपत्र फेला परेपछि नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिए ।
परीक्षा सञ्चालन भइरहँदा यादवले प्रश्नपत्र कहाँबाट पाए भन्ने विषयमा अनुसन्धान भइरहेको सीडीओ कडरियाले बताए । स्रोतका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्यले एसईई दिइरहेको पाइएको छ । यो वर्षदेखि एसईईको परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक कसैलाई पनि मोबाइल फोन बोक्न दिइएको छैन ।
परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न नदिने व्यवस्था समेत मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।




