काठमाडौं । मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा देखिएको औषधि अभाव अहिले गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उभिएको छ । सरकारद्वारा उपलब्ध गराइने ९८ प्रकारका नि:शुल्क औषधिमध्ये करिब २० प्रकारका अत्यावश्यक औषधि समेत अस्पतालमा नपाइँदा उपचार सेवा प्रत्यक्ष प्रभावित भएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ सुरु भएको लामो समय बितिसक्दा पनि औषधि आपूर्ति हुन नसक्नुले स्वास्थ्य व्यवस्थापनमा गम्भीर कमजोरी रहेको संकेत गरेको छ । बाराको कलैया र पर्साको पोखरिया जस्ता प्रमुख प्रादेशिक अस्पतालहरूमा यो समस्या अझ तीव्र रूपमा देखिएको छ ।
कलैया उपमहानगरपालिका मा रहेको प्रादेशिक अस्पताल र पोखरिया नगरपालिका अन्तर्गतको अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर सामान्य ज्वरोदेखि लिएर उच्च रक्तचाप, मधुमेह र संक्रमण सम्बन्धी औषधि नपाउँदा बिरामीहरू निजी औषधि पसलमा महँगो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।
यसले आर्थिक रूपमा कमजोर वर्गलाई झनै प्रभावित बनाएको छ । राज्यले सुनिश्चित गरेको स्वास्थ्य सेवामा समान पहुँचको अवधारणा नै प्रश्नको घेरामा परेको छ । विशेष गरी स्वास्थ्य बीमा कार्यक्रमबाट लाभ लिन खोज्ने नागरिकहरू नै सबैभन्दा बढी निराश भएका छन् । बीमा शुल्क तिरेपनि आवश्यक औषधि नपाउने अवस्था रहँदा नागरिकको राज्य प्रतिको विश्वास कमजोर बन्दै गएको छ ।
अझ गम्भीर पक्ष भनेको पछिल्ला तीन महिनादेखि रेबिजविरुद्धको खोप अभाव हुनु हो । रेबिज जस्तो घातक रोगको जोखिम उच्च रहेको क्षेत्रमा खोप अभाव हुनु जीवन–मृत्युसँग जोडिएको संवेदनशील विषय बनेको छ । जनावरको टोकाइपछि तत्काल खोप आवश्यक पर्ने भएपनि अस्पतालमा उपलब्ध नभएकाले बिरामीहरू अन्यत्र धाउन वा निजी क्षेत्रमा महँगो खर्च गर्न बाध्य छन् ।
यो समस्या कलैया वा पोखरियामा मात्र सीमित नभई मधेस प्रदेशका अधिकांश प्रादेशिक अस्पतालहरूमा फैलिएको देखिन्छ । औषधि खरिद प्रक्रियामा ढिलाइ, बजेट विनियोजनमा समस्या, आपूर्ति व्यवस्थापनको कमजोरी र सम्बन्धित निकायहरूबीच समन्वय अभाव यसका मुख्य कारणका रूपमा औंल्याइएको छ ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न सरकार गम्भीर बन्नुपर्ने देखिन्छ । औषधि खरिद तथा वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउँदै आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न तत्काल पहल नगरे यसले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने निश्चित छ ।




