काठमाडाैं । हाँस्य कलाकार एवम् निर्माता दीपाश्री निराैलाले नायक राजेश हमालकाे ‘महानायक’ उपाधिबारे प्रश्न उठाउँदा उनले चर्को आलोचना सहनुपरेकाे थियाे । त्यतिबेला राजेश हमालका फ्यानले दीपाकाे यतिसम्म मजाक उडाए कि, उनी डिप्रेशनमै पुगिन् ।
हमालले आफूले दीपालाई माफी दिएको भनेपछि बल्ल सेलायो ‘महानायक’ काण्ड । महानायक माथि कसैले सवाल उठाउँदा उनको समर्थनमा नेपाली नागरिक उर्लिएको हेर्ने हो भने, चलचित्र क्षेत्रमा निष्क्रिय भएको वर्षौसम्म पनि उनको क्रेज खस्किएको छैन भन्ने बुझ्न सकिन्छ । क्रेज कायमै रहेपनि उनको म्युजिक भिडियाे माेह हेर्दा उनकाे भाउ भने सस्तिएको भान हुन्छ ।
राजेश हमाल यति सस्ता भएका छन् कि, उनी आजभोलि जस्तो भिडियोमा पनि अभिनय गर्छन् । नयाँ पुस्ताका चर्चित कलाकारले बुझेर मात्रै भिडियो र चलचित्रको अफर स्किार्छन् । अभिनेता अनमोल केसी त झन् म्युजिक भिडियोमा खेल्नै चाहँदैनन् । महानायकको उपाधि पाएका हमाल भने अफर आएका कुनैपनि चलचित्र र म्युजिक भिडियो छोड्दैनन् । गीत र स्क्रिप्ट जस्तोसुकै होस्, उनलाई मतलब गर्दैनन् । उनका पछिल्ला म्युजिक भिडियाेहरू हेर्दा उनले आफ्नो उचाई आफैँले खस्काएको अनुभुत हुन्छ ।
अब त उनी सुर न तालका गीति भिडियाेमा समेत देखिन थालेका छन् । दुई दिनअघि मात्रै उनले अभिनय गरेकाे र्याप गीत ‘नाच न कान्छी’ सार्वजनिक भयाे । सम्भवतः याे उनकाे पहिलाे र्याप म्युजिक भिडियाे हाे । उक्त भिडियाेमा उनले प्ले गरेकाे राेल उनीमाथि खासै जमेकाे देखिँदैन । उनले आफ्नो उचाई मेन्टेन गर्न सकिरहेको देखिँदैन । हमालले क्वालिटी नहेरी केवल पैसा मात्रै हेरेका हुन् कि भन्ने भान हुन्छ !
काेराेना महामारीमा सबै नायक, नायिकाहरू म्युजिक भिडियाेमा सक्रिय भएर लागेका छन् । हल बन्द हुँदा चलेका कलाकार समेत म्युजिक भिडियाेतिर आकर्षित भइरहेकाे देख्न सकिन्छ । महानायक हमाल पनि उतिकै सक्रिय छन् म्युजिक भिडियाेमा ।
उनले ‘नाच न कान्छी’, ‘मालिङ्गो’, ‘हल्का हल्का लजाएर’, ‘वरको छायाँले’, ‘मञ्जरी’, ‘आँखामा गाजल’, ‘सल्लैको धुप राम्रो’ लगायत थुप्रै म्युजिक भिडियोहरु गरिसककेका छन् । उनले खेलेका चलचित्र र म्युजिक भिडियो खासै हिट पनि छैनन् । आफूले पछिल्लो पटक अभिनय गरेको चलचित्र फ्ल्प भएपछि अभिनेता हमालको म्युजिक भिडियो मोह बढेकाे हाे ।




