रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा रौतहटमा प्रविधिको दुरुपयोग गर्दै प्रश्नपत्र बाहिर निकाल्ने संगठित गिरोह सक्रिय रहेको तथ्य बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको कारबाहीपछि व्हाट्सएप समूहमार्फत प्रश्न बाहिर पठाई उत्तर उपलब्ध गराउने सञ्जालको पर्दाफास भएको हो ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे १० बजे गरुडा नगरपालिकास्थित परीक्षा केन्द्रहरूबाट प्रश्नपत्र बाहिर निकालेर मोबाइलमार्फत पठाइँदैछ भन्ने सूचनाका आधारमा निगरानी कडा पारिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट परीक्षा दिइरहेका विद्यार्थीहरूलाई व्हाट्सएप समूहमा आबद्ध गराई केन्द्रभित्रबाटै प्रश्न बाहिर पठाउने र बाहिरबाट तयार पारिएको उत्तर पुन: उपलब्ध गराउने गरिएको देखिएको छ । यसले परीक्षा प्रणालीको विश्वसनीयता र मर्यादामाथि गम्भीर चुनौती खडा गरेको प्रहरीको निष्कर्ष छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा गरुडा ७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन ७ का २० वर्षीय रोहितकुमार पटेल तथा सर्लाही बलरा ८ का १८ वर्षीय धिरज साह रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको निमित्त सूचना अधिकारी जीवनकुमार मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार पछिल्लो समय परीक्षा प्रणालीमा प्रविधिको दुरुपयोग नयाँ स्वरूपमा बढ्दै गएको देखिएको छ । मोबाइल एप र सामाजिक सञ्जालको प्रयोगमार्फत संगठित रूपमा धाँधली गरिनु केवल स्थानीय समस्या मात्र नभई राष्ट्रिय चुनौतीका रूपमा देखिएको अधिकारीहरू बताउँछन् ।
यसैबीच, मावि बरगजवा परीक्षा केन्द्रमा पनि शंकास्पद गतिविधि देखिएपछि केही शिक्षकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । परीक्षा दिइरहेका विद्यार्थीहरूसँग विषयगत शिक्षकहरू राखेर अस्वाभाविक गतिविधि गराइएको आशंका गरिएको थियो । यद्यपि उनीहरूलाई कडा चेतावनीसहित भविष्यमा यस्तो कार्य नगर्ने शर्तमा छाडिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एसईई परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन सबै पक्षको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् । उनले परीक्षा मर्यादाविपरीत कुनै पनि गतिविधि दोहोरिए प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिए ।
रौतहटको यो घटनाले परीक्षा प्रणालीमा देखिँदै आएको ‘सेटिङ’ संस्कृति अब डिजिटल माध्यमतर्फ सर्दै गएको संकेत गरेको छ । प्रविधिको सहज पहुँचले अवसर सिर्जना गरेपनि यसको दुरुपयोगले शिक्षाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । अब चुनौती केवल कारबाहीमा सीमित नभई प्रणालीलाई पारदर्शी र अनुशासित बनाउनेतर्फ केन्द्रित देखिन्छ ।




