रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनी दुःख दिनेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिक २ का सिकित नारायण, राजदेवी नगरपालिका ७ का बब्लुप्रसाद यादव, सोही ठाउँका श्याम बिहारी यादव, परोहा नगरपालिक ७ का रामनरेशप्रसाद पटेल र गौर नगरपालिका ८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
प्रहरीले गौर नगरपालिका ४ स्थित बसपार्क, वडा नं. ३ स्थित जिल्ला अदालत, वडा नं. ५ स्थित मालपोत कार्यालय लगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनी अनावश्यक झन्झट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सो बापत अनुचित लाभ लिने लगायतका कार्य गरेको भेटेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।




