सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ५ स्थित बालम चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । मलंगवा–बरहथवा सडक खण्डमा बिहिबार साँझ करिब ५:४० बजे उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ प २९४० नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बिआर ३० एम २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका ६ बस्ने अन्दाजी ४० वर्षीय जयाराम महतो र मोटरसाइकलको पछाडि सवार बरहथवा नगरपालिका ६ का ६० वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनाको टाउको, अनुहार, शरीरका विभिन्न भाग र हातखुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । घाइतेहरूलाई तत्काल उपचारका लागि बरहथवास्थित भेन्स अस्पताल लगिएको थियो ।
त्यहाँ प्राथमिक उपचार पछि उनीहरूको अवस्था थप जटिल देखिएकाले उन्नत उपचारका लागि बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ । हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक धनुषा जिल्लाको मिथिला नगरपालिका ७ बस्ने सन्तोष कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्दछ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






