काठमाडौं । गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
अख्तियारमा परेको उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानमा पौडेलले आफ्नो पदीय मर्यादा दुरुपयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ । अनुसन्धानका क्रममा उनले व्यक्तिगत ऋण सापटी लिएको देखाएर आयको स्रोत प्रमाणित गर्ने प्रयास गरेको विवरण फेला परेको स्रोतले जनाएको छ ।
तर, प्रस्तुत गरिएका ती ऋण कारोबारहरूको वास्तविकता शंकास्पद देखिएको र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउन, छल्न तथा रूपान्तरण गर्न प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
यसै आधारमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत समेत कसुर आकर्षित हुन सक्ने देखिएकाले सोही अनुसार थप अनुसन्धान अघि बढाइएको जनाइएको छ । यस प्रकरणमा पौडेलसँगै अन्य संलग्न व्यक्तिहरूमाथि पनि छानबिन भइरहेको बताइएको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उजुरीमा उल्लिखित विषयवस्तुका आधारमा आवश्यक कागजात संकलन, आर्थिक कारोबारको विश्लेषण तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछको प्रक्रिया जारी रहेको छ । अख्तियारले अनुसन्धान निष्कर्षमा पुगेसँगै आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ ।






