जनकपुर । महोत्तरीको जलेश्वर–सम्सी सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार दुवै मोटरसाइकलमा तीन/तीन जना सवार रहेका थिए । मोटरसाइकलहरू आपसमा ठोक्किएलगत्तै आगलागी हुँदा दुर्घटनास्थलमै मृत्यु भएका तीनै जनाको शव जलेको अवस्थामा फेला परेको छ ।
मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन । घटनास्थलमा फेला परेका सामाग्री र मृतकहरूको शरीरमा रहेको कपडाका आधारमा मृत्यु हुनेहरू विद्यार्थी हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीले जनाएको छ ।
जलेश्वर नगरपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगेर मोटरसाइकलमा लागेको आगो निभाएको थियो । मृतकहरूको शव पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, घाइते भएका अन्य तीन जनालाई उपचारका लागि जलेश्वर अस्पताल लगिएको छ ।






