काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।
दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षका बिदुर गुरुङ र उनकी आमा ८४ वर्षकी धनमाया गुरुङ रहेका छन् । धनमाया मोटरसाइकलको पछाडि सवार थिइन् । बिदुर सशस्त्र प्रहरी बलका अवकासप्राप्त एसपी हुन् । दुर्घटनापछि उनीहरुलाई तत्काल अल्का अस्पताल २ मा लगिएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
सडकको छेऊको लेनमा मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रक र सोहि दिशाबाट जादै गरेको मोटरसाइकल बागमती ए एए ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालक बाराको जितपुर सिमारा १२ का ३३ वर्षीय बिनोद खा थारु प्रहरीको नियन्त्रणमा रहेका छन् ।






