काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए ।
उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा बुधबारदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरेका छन् । यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए ।
उनका अनुसार दिउँसो त्यसको असर काठमाडौंमा पनि आइपुग्ने छ । विभागले मंगलबार साँझ जारी गरेको बुलेटिन अनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्ने जनाइएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए । मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए । बिहिबार पनि बदली कायम रहने छ ।






