रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान बेलुकीको छाक टार्ने गर्थे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ४ का कुल बहादुर सुनार अहिले जीवन र मृत्युको दोसाँधमा छन् ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको संसार नै अन्धकार बनेको छ । हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत सुनारको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ ।
चिकित्सकका अनुसार उनको जीवन बचाउने एकमात्र विकल्प ‘मिर्गौला प्रत्यारोपण’ हो । तर एकातिर मिर्गौला दाताको अभाव छ भने अर्कोतिर उपचारका लागि आवश्यक ठूलो रकमले परिवारलाई थप पीडामा पारेको छ ।
विगतमा पसिना बगाएर परिवार पाल्दै आएका कुल बहादुर आफैं थला परेपछि परिवारको आम्दानीको स्रोत शून्य भएको छ । हाल उनलाई हप्तामा कम्तीमा एक पटक डायलोसिस गर्नुपर्ने हुन्छ । एक पटक डायलोसिस गर्दा करिब ५ हजार रुपैयाँ खर्च लाग्छ । सामान्य परिवारका लागि हप्ताको ५ हजार जुटाउनु पहाड सरह भएको छ ।
“बुबाको उपचार गर्दा भएको जेथो सकियो, अब कसरी बचाउने ?” भन्दै परिवारका सदस्यहरू भक्कानिन्छन् । ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै पीडित परिवारले देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सहयोगको याचना गरेका छन् ।

तपाईंको एउटा सानो सहयोगले कसैको सिन्दूर पुछिनबाट जोगिन सक्छ, कसैका छोरा छोरीको ओठमा फेरि हाँसो फर्कन सक्छ । सहयोग गर्न इच्छुक महानुभावहरूले कुल बहादुरकी छोरी सोबी सुनारको बैंक खातामा क्यूआर कोडमार्फत वा सिधै रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।
एउटा व्यक्तिको सानो सहयोग, कुल बहादुरका लागि जीवनदान बन्न सक्छ । मानवताको नाताले यस दुःखद घडीमा साथ दिई उनको जीवनरक्षा गरिदिनुहुन परिवारले विनम्र अनुरोध गरेको छ ।




