सिराहा । सिराहा नगरपालिका १५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका वडा नं. १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत चैत २४ गते साँझ करिब ७:०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०१-००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो ।
मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । उनीहरूलाई चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओम प्रकाश पण्डितले जानकारी दिए ।




