काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भन्सार कर्मचारीसहित कुल २८ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दामा महरासँगै उनका छोरा राहुल महरा (निर्मल), सहसचिव अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, चिनियाँ नागरिक दाओजिन वाङ र लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाइएको छ । यस प्रकरणमा चार जना विदेशी नागरिक समेत संलग्न रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार, तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक रहेका पोखरेलको समेत संलग्नता देखिएको छ । आयोगले यस मुद्दामा ७ करोड ७८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
२०७९ सालमा चिनियाँ गिरोहले भेपको आवरणमा सुन नेपाल भित्र्याउने प्रयास गर्दा भन्सारले बरामद गरेको थियो । त्यसपछि गरिएको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्तिहरूको संलग्नता खुलेको अख्तियारले जनाएको छ ।
आरोपपत्र अनुसार, २०७९ पुसमा भेपमार्फत ल्याइएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेका थिए । यसअघि सोही प्रकरणमा पक्राउ परेका महरा उच्च अदालतले तोकेको धरौटी बुझाएर केही महिनाअघि रिहा भएका थिए । अहिले पुन: अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रकरणले नयाँ मोड लिएको छ ।






