रौतहट । रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक खण्डमा रहेका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।
नगरपालिकाले सबै वडामा सूचना जारी गर्दै सार्वजनिक सडकको दायाँ बायाँ पर्ने अधिकार क्षेत्रभित्र निर्माण गरिएका अवैध घर, टहरा, गुम्ती तथा पशुधन, खाद्यान्न र निर्माण सामाग्री हटाउन आग्रह गरेको छ ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलका अनुसार कतिपय स्थानमा सडक क्षेत्रमै स्थायी संरचना निर्माण गरिएको तथा धेरै ठाउँमा लामो समयदेखि निर्माण सामाग्री थुपारिएको पाइएपछि यस्तो सूचना जारी गरिएको हो ।
सडक अतिक्रमणका कारण सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवागमनमा समस्या भएको जनगुनासो बढेपछि सम्बन्धित धनीलाई आफ्नै खर्चमा सात दिनभित्र अवैध संरचना तथा सामाग्री हटाउन निर्देशन दिइएको उनले जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक सडक खाली गर्न सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ । तोकिएको समय सीमाभित्र सम्बन्धित धनीले आफैं अवैध संरचना नहटाएमा नगरपालिकाले हटाउने र त्यसमा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिबाट असुल गरिने पनि पौडेलले स्पष्ट पारेका छन् ।




