सप्तरी । बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बोदेबर्साइन नगरपालिका १ का २४ वर्षीय रामनारायण यादव (रामबाबु), सोही स्थानका रामचन्द्र मण्डल, सुरुङ्गा नगरपालिका ६ का २२ वर्षीय सुनिलकुमार सदा र महदेवा गाउँपालिका ४ का ४६ वर्षीय शेखर मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार रामनारायण यादवलाई २०८१ असोज २७ गते बोदेबर्साइन नगरपालिका १ धनगढी टोलमा निरासी यादवनीमाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै कालो मसी र सेतो चुना जबर्जस्ती मुखमा लगाउने प्रयास गरेको घटनामा पक्राउ गरिएको हो ।
त्यसैगरी, रामचन्द्र मण्डललाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बोदेबर्साइन १ मनौर टोलस्थित आफ्नै घरअगाडि बसेकी सुजान देवी यादवमाथि प्रतिवादीहरूले गालीगलौज गर्दै बाँसको लाठी, हात, लात र मुक्काले कुटपिट गरी अभद्र व्यवहार गरेका थिए ।
यसैबीच, सुरुङ्गा नगरपालिका ६ का सुनिलकुमार सदालाई बिहीबार स्थानीय बजार क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाउँदा उल्टै प्रहरी टोलीमाथि गालीगलौज गर्दै ड्युटीमा बाधा पुर्याएको आरोपमा पक्राउ गरिएको छ ।
त्यस्तै, महदेवा गाउँपालिका ४ का शेखर मण्डललाई बुधबार राजविराज नगरपालिका २ मा गंगाधरप्रसाद देवमाथि गालीगलौज, धाकधम्की तथा लछारपछार गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका रामनारायण, रामचन्द्र र सुनिलकुमारलाई छ दिन तथा शेखर मण्डललाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।




