पर्सा । यातायात व्यवस्था कार्यालय, वीरगंजमा लामो समयदेखि कार्यरत लेखापढी व्यवसायी तथा केही दैनिक ज्यालादारी कर्मचारीहरू बिचौलियाको रूपमा सक्रिय रहेको आरोप सार्वजनिक भएको छ ।
सरकारले देशभरका मालपोत, नापी, यातायात तथा जिल्ला प्रशासन कार्यालयहरूमा बिचौलियाको प्रभाव न्यूनीकरण गरी सुशासन कायम गर्ने अभियान सञ्चालन गरेसँगै पर्सास्थित कार्यालयहरूमा पनि प्रहरीले निगरानी कडा बनाएको छ ।
यसै क्रममा कार्यालय परिसरमा कार्यरत केही लेखापढी व्यवसायीहरूलाई नियन्त्रणमा लिएको वा हटाइएको भन्ने खबरहरू बाहिरिएका छन् । लेखापढी व्यवसायीहरूले सेवाग्राहीहरू आफ्ना कागजात लिएर कार्यालय पुगेपनि प्रहरीले अनावश्यक रूपमा नियन्त्रणमा लिने गरेको गुनासो गरेका छन् ।
यस्तो कार्यले काम गर्ने वातावरण प्रभावित भएको भन्दै सम्बन्धित निकायसँग सहज वातावरण सिर्जना गर्न माग गरिएको छ । यता, व्यवसायीहरूले कार्यालयभित्रको भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रणमा नआएको दाबी गरेका छन् । उनीहरूका अनुसार केही दैनिक ज्यालादारी कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहँदै सेवाग्राहीसँग रकम असुल्ने कार्य भइरहेको छ ।
विभिन्न शाखामा कार्यरत केही कर्मचारीहरू बिचौलियाको रूपमा संलग्न रहेको आरोप लगाइएको छ । उनीहरूका अनुसार सेवाग्राहीको काम रकमको आधारमा अघि बढाइने गरिएको दाबी गरिएको छ ।
त्यस्तै, नयाँ सवारी दर्ताका लागि आवश्यक कागजात कर्मचारीहरूले नै भर्ने व्यवस्था भएपनि केही कर्मचारीहरूले व्यक्तिगत रूपमा सेवा प्रदान गर्दै अतिरिक्त रकम असुल्ने गरेको आरोप पनि व्यवसायीहरूले गरेका छन् । सङ्कलित रकम शाखा हुँदै माथिल्लो तहसम्म पुग्ने गरेको उनीहरूको दाबी छ ।
कार्यालयमा करिब १२५ जना लेखापढी व्यवसायी कार्यरत रहेको र उनीहरू यही पेशाबाट परिवार पाल्दै आएको बताएका छन् । उनीहरूले कार्यालयभित्रै व्यवस्थित रूपमा काम गर्ने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, कार्यालयमा पारदर्शिता कायम गर्न र अनियमितता नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ ।




