सर्लाही । सर्लाहीमा अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विष्णु गाउँपालिका २ नदियापकडी क्षेत्रमा विशेष सूचनाका आधारमा शुक्रबार राति सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा ट्याक्टरमा लोड गरिएको काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमा गोडैताबाट फूलपरासी तर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर (डुम्री) जातको गोलिया काठ नियन्त्रणमा लिइएको हो ।
बरामद काठको मूल्य करिब ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्याक्टरको मूल्य करिब १० लाख रुपैयाँ आँकलन गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । यस अनुसार काठ र ट्याक्टरसहित कुल मूल्य १० लाख ६८ हजार ३३० रुपैयाँ बराबर रहेको छ ।
नियन्त्रणमा लिइएको काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, लालबन्दी सर्लाहीमा बुझाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिए ।




