सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार बिहान ९:४५ बजे आफ्नै घरअगाडि श्रीमती ६० वर्षीया जिरावती महतोसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट २२० भोल्टको तार चुडिँदा दुवै जनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा राजकुमार महतोको उपचारका क्रममा शुक्रबार बिहान ११:१९ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
घटनामा घाइते भएकी जिरावती महतोको सोही अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र उनी डिस्चार्ज भई घर फर्किएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




