वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा एक युवकको हत्या भएको छ । वीरगञ्ज मुर्ली बस्ने २८ वर्षीय विकास चौरसियाको आइतबार हत्या भएको हो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागि घरबेटीलाई समेत नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा एक जना महिला र तीन पुरूष रहेका छन् ।
स्थानीयका अनुसार दिउँसोदेखि नै घटना भएको घरमा अपरिचित मानिसहरुको चहलपहल बढेको थियो । चर्को स्वरमा म्युजिक बजाएर युवकलाई कुटपिट गरिएको थियो ।
छेउको घरमा सुतिरहेको बालक उठेर आफ्नो घरको बरण्डाबाट तल हेर्दा केहि मानिसहरु मिलेर एक जनालाई कुटपिट गरेको देखेपछि हो हल्ला भएको थियो । तर भित्रबाट ढोका लगाएर उनीहरु बसेका कारण स्थानीय भित्र गएर उद्धार गर्न सकेनन् ।
जति आग्रह गर्दा पनि भित्रबाट ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि ढोका खोलिएको थियो । टोलबासीले प्रहरीलाई खबर गरेपछि शंकास्पद मानिसहरुलाई पनि घेरेर राखेका थिए । आँखा छलेर भागेका उनीहरुलाई लखेटेर पक्राउ गर्न सफल भएको स्थानीय युवाहरु बताउँछन् ।




