महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ । स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बिहानै नियमित आवतजावतका क्रममा स्थानीयले शंकास्पद अवस्थामा एक पुरुषको शव देखेपछि खबर गरेका हुन् । सूचना प्राप्त हुना साथ नेपाल प्रहरी को टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया सुरु गरेको थियो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्राकृतिक मुचुल्का तयार पार्नुका साथै प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ । शव हेर्दा करिव ३०/३५ वर्ष उमेर समूहको पुरुष जस्तो देखिएको र पहिचान खुलाउने कुनै कागजात वा प्रमाण तत्काल फेला नपरेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । मृत्युको कारण पोस्टमार्टम रिपोर्ट बाट मात्र थाहा हुने प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको र मृतकको पहिचान खुलाउन आसपासका जिल्ला तथा हराएका व्यक्तिहरूको विवरणसँग मिलान गर्ने कार्य भइरहेको जनाएको छ ।
साथै, यदि कसैले हराएका आफन्तको खोजी गरिरहेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।




