सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विदेशी नम्बर प्लेटका सवारी साधनको सञ्चालनमा निगरानी बढाउँदै नयाँ नियममा कडाइ गरेको छ । ‘भन्सार महसुल ऐन २०८१’ र ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरीले विदेशी सवारी साधनका लागि नयाँ प्रावधानहरू लागू गरेको हो ।
नयाँ नियम अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले अनिवार्य रूपमा दैनिक भन्सार शुल्क तिर्नुपर्नेछ । जिल्ला ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल तथा स्कुटरका लागि दैनिक २०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीका लागि ४०० रुपैयाँ र कार, जिप तथा भ्यानका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ । यस्ता सवारी साधनले एक आर्थिक वर्षमा बढीमा ३० दिन मात्र नेपालमा सञ्चालन अनुमति पाउनेछन् ।
कडा जरिवाना र जफतको प्रावधान
निर्धारित समयसीमा भन्दा बढी सवारी सञ्चालन गरेमा कडा जरिवानाको व्यवस्था गरिएको छ । अनुमति बिना वा म्याद नाघेर चलाइएका मोटरसाइकल र स्कुटरलाई दैनिक १,२०० रुपैयाँ तथा अन्य चार पाङ्ग्रे सवारी साधनलाई दैनिक २,५०० रुपैयाँ जरिवाना लाग्नेछ ।
प्रहरीले दिएको जानकारी अनुसार, भन्सार शुल्क नबुझाई ७ दिनभन्दा बढी समयसम्म नेपालमा राखिएका विदेशी सवारी साधनलाई सिधै जफत गरिनेछ । साथै, बिना अनुमति सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले ५,००० रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान समेत राखिएको छ ।
मलंगवा बजार आउनेलाई सहुलियत
भारतीय सीमावर्ती क्षेत्र मलंगवा बजारसम्म आउने भारतीय सवारी साधनका लागि भने केही सहुलियत प्रदान गरिएको छ । घरायसी प्रयोजन वा बजार भर्नका लागि आएर सोही दिन फर्कने सवारी साधनले शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । तर, त्यस्ता सवारी साधनले पनि सीमास्थित भन्सार कार्यालयबाट अनिवार्य रूपमा ‘सवारी पास’ भने लिनुपर्नेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कानुनको पालना गर्न र जरिवाना तथा जफत जस्ता कानुनी कारबाहीबाट बच्न सबै विदेशी सवारी धनीहरूलाई अनुरोध गरेको छ । यो नियम कडाइका साथ लागू भएपछि सीमा क्षेत्रमा हुने सवारी साधनको अनियन्त्रित चाप र राजस्व चुहावट नियन्त्रण हुने विश्वास लिइएको छ ।




