धनुषा । धनुषाको मिथिला नगरपालिका ७ ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहिबार राति भीषण आगलागी भएको छ । राति करिब १० बजे उद्योगमा आगलागी हुँदा प्रारम्भिक अनुमान अनुसार करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगका प्रबन्धक सन्जय गुप्ताले जानकारी दिए ।
जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट खटिएका पाँच वटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए ।
आगलागीका कारण उद्योगमा रहेका स्टिम र थर्मोफुल गरी दुई वटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको प्रबन्धक गुप्ताले जानकारी दिए । दुवै प्रशोधन मेसिन पूर्णरूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्, त्यस हिसाबले पनि करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।
उनका अनुसार क्षतिको यकिन विवरण संकलन गर्न अझै दुई तीन दिन लाग्नेछ ।इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण खुल्न नसकेको र घटना बारे अनुसन्धान भइरहेको जानकारी दिए ।






