सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १३ र १४ मा दुई जना असहाय तथा अशक्त व्यक्तिलाई व्हिलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सको पहलमा उक्त सहयोग वितरण गरिएको हो । यस अवसरमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा वडा नं. १३ र १४ का स्थानीय बासिन्दा, लायन्स क्लबका सदस्यहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो जानकारी लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सका अध्यक्ष डा. आलोक कुशवाहाले दिएका हुन् ।
व्हिलचेयर वितरण कार्यक्रम डेनमार्क निवासी समाजसेवी भुवन द्वज थापाको सहयोग तथा लायन्स इन्टरनेशनलका एरिया कोअर्डिनेटर राजकुमार न्यौपानेको पहलमा सम्पन्न भएको हो । आर्थिक अवस्था कमजोर भएका ती अशक्त व्यक्तिहरूको दैनिक हिँड्डुल सहज बनाउने उद्देश्यले व्हिलचेयर प्रदान गरिएको अध्यक्ष कुशवाहाले बताए ।
क्लबले आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । “लायन्सको मूल उद्देश्य सेवा नै हो,” भन्ने भावनालाई आत्मसात् गर्दै आफूहरू गाउँ–नगरबासीको सेवामा समर्पित रहने क्लबले जनाएको छ ।




