सर्लाही । सर्लाहीको लालबन्दीस्थित मरिन चोकमा निर्माण गरिएको प्रहरी बिट यतिबेला प्रहरीविहीन अवस्थामा रहेको छ । व्यस्त चोकका रूपमा चिनिने मरिन चोकमा आकर्षक रूपमा मर्मत गरिएको प्रहरी बिट भएपनि त्यहाँ प्रहरीको उपस्थिति नहुँदा स्थानीयवासी चिन्तित बनेका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीको निशानामा परेर उक्त प्रहरी बिट जलाइएको थियो । पछि स्थानीय युवाहरूको सक्रियतामा बिट मर्मत गरी पुनः निर्माण गरिएको थियो । मर्मत सम्पन्न भएको करिब ७ महिना बितिसक्दा पनि बिटमा नियमित रूपमा प्रहरी खटिएको देखिँदैन ।
आन्दोलनअघि चौबिसै घण्टा प्रहरीको उपस्थिति रहने उक्त चोक अहिले सुनसानजस्तै बनेको छ । “कोही पनि कानुनभन्दा माथि छैन, सुख दुःखमा प्रहरी नै साथी” भन्ने नेपाल प्रहरीको नारासँग विपरीत अवस्था यहाँ देखिएको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाले पटक–पटक इलाका प्रहरी कार्यालय लालबन्दीमार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई उक्त बिटमा प्रहरी खटाउन आग्रह गरेका छन् । सुरुवाती दिनहरूमा केही समय प्रहरीको उपस्थिति देखिए पनि हाल भने बिट प्रायः बन्द रहने गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरीक्षक बिरेन्द्र जोहारी आएपछि क्षेत्रमा चोरी, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको स्थानीयहरूको आरोप छ ।
सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने लालबन्दी बजार क्षेत्रमा बिहान सबेरैदेखि राति अबेरसम्म पैदलयात्री, विद्यार्थी र सवारी साधनको चहलपहल हुने गर्दछ । यस्तो व्यस्त क्षेत्रमा प्रहरी बिट भए पनि प्रहरी नहुँदा असुरक्षाको भावना बढेको स्थानीय बसन्त कार्कीले बताए ।
स्थानीय घनश्याम भण्डारीका अनुसार पछिल्लो समय लालबन्दी आसपासमा चोरी, लुटपाट, महिला माथि दुर्व्यवहार तथा लागूऔषध कारोबार बढ्दो क्रममा रहेको छ । विशेष गरी बजार क्षेत्र, रेलवे ड्याम आसपासका स्थानहरू गैरकानुनी गतिविधिका केन्द्र बन्दै गएको उनीहरूको भनाइ छ ।
यसैबीच, बजार क्षेत्रमा रहेका प्रहरी बिटहरूमा लामो समयदेखि प्रहरी नहुँदा साना अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले जनशक्ति अभावका कारण २४ घण्टा प्रहरी खटाउन कठिनाइ भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले भने आवश्यक समन्वय गरी मरिन चोकस्थित प्रहरी बिटमा नियमित प्रहरी उपस्थिति सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिए ।




