रौतहट । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुई वटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको हो ।
नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले वर्षौँदेखि नगरपालिकाको दुई कट्ठा जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका थिए । उक्त स्थानमा नगरपालिकाले ६ करोड ४६ लाख ५५ हजार ५५५ रुपैयाँको लागतमा आधुनिक सुविधायुक्त प्रशासनिक भवन निर्माण गर्ने योजना अघि सारेको छ । निर्माणको जिम्मा सिपी यतिआलम जेभीले पाएको छ ।
नगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि टेरपुच्छर नलगाएपछि गत चैत १ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच छलफल भएको थियो । उक्त छलफलमा चैत १० गतेभित्र घर खाली गर्ने सहमति भएपनि उनीहरूले सहमति विपरीत चैत १८ गते जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका थिए ।
अदालतले सुरुमा निषेधाज्ञा जारी गरे तापनि चैत २५ गते जाहेरवालाको मुद्दा खारेज गरिदिएपछि नगरपालिकालाई कानुनी रूपमा बाटो खुलेको हो । अतिक्रमित २ कट्ठा जग्गा खाली गराएसँगै अब नगरपालिकासँग भवन निर्माणका लागि कुल ८ कट्ठा जग्गा उपलब्ध भएको छ । वडा नं. २ का अध्यक्ष सिकेन्द्र पटेलका अनुसार जग्गा अभाव र अतिक्रमणका कारण लामो समयदेखि भवन निर्माणको काम प्रभावित भएको थियो ।
नगरप्रमुख बिनोद पटेलले बारम्बारको आग्रह र सहमतिलाई अटेर गरिएपछि विकास निर्माणको कामलाई अघि बढाउन बाध्य भएर कानुनी प्रक्रिया पुर्याई संरचना हटाउनु परेको बताए । अब प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढ्ने नगरपालिकाले जनाएको छ ।




