सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि भएको जनाएको छ ।
सार्वजनिक विवरण अनुसार एक महिनाको अवधिमा १३२ वटा अपराध दर्ता भएका छन् भने ९६ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार ज्यान सम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् ।
जघन्य तथा गम्भीर प्रकृतिका बैंकिङ कसुर, जुवातास, ठगी तथा हात हतियार सम्बन्धी गरी ३५ वटा मुद्दा दर्ता भएका छन् । अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले १५ वटा पेण्डिङ मुद्दा सबै फर्छ्योट गरेको जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । सामाजिक पक्षतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा २६–४० वर्ष उमेर समूहका पीडित बढी रहेको तथ्यांक छ ।
हराएका ३२ जनामध्ये १६ जना फेला पारिनु सकारात्मक पक्ष भएपनि बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ । लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता देखाउँदै ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरेको छ ।
यसैबिच, चैत महिनामा १८ जनाले ज्यान गुमाएको तथ्यांकले चिन्ता बढाएको छ । यस्ता घटना विशेष गरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरेको छ । एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति खटाइएको छ । सवारी दुर्घटनातर्फ ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ ।
ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यसैगरी, राजस्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ ।




