सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । यस्तै दुर्घटनामा चालक सकुशल छन् ।
जिल्लास्थित पातो–कठौना भित्री सडक खण्डमा शुक्रबार पातोबाट अर्नाहा तर्फ जाँदै गरेको स ८ प ९८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार अन्दाजी ५५ वर्षीया मञ्जुदेवी मण्डलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका ६ बथनाहा निवासी ३२ वर्षीय सुरेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरी मा कार्यरत भई इलामको ट्राफिक पोस्ट हर्कटेमा खटिएका छन् ।
प्रहरीका अनुसार चालक मण्डल मृतकका छोरा हुन् र उनी दुर्घटनामा सकुशल रहेका छन् । मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






