रौतहट । रौतहट जिल्लाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ११४ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत चैत महिनामा मात्रै जिल्लाभरि उक्त संख्यामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १७८ जना घाइते भएका छन् । घाइते सबैलाई प्रहरीले उद्धार गरेको जनाएको छ । ती दुर्घटनामा १६९ वटा सवारी साधन संलग्न रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद बस्यालका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ ।
उनका अनुसार ८७ वटा दुर्घटना चालकको लापरबाहीका कारण, २६ वटा पैदल यात्रुको कारण तथा १ वटा सवारी साधनको प्राविधिक समस्याका कारण भएको हो ।
यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ११० जना चालकलाई कारबाही गरिएको छ । कारबाहीबाट ११ लाख ५३ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय तथा नेपाल प्रहरीले समय समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
साथै गौर–चन्द्रपुर सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग, गौर–पिपरा सडक खण्ड लगायतका क्षेत्रमा ट्राफिक चेकजाँच कडाइ गरिएको र नियम उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिँदै आएको प्रवक्ता बस्यालले जानकारी दिए ।






