सिरहा । सिरहाको नरहा गाउँपालिका ४ वर्छवास्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील मातृ स्वास्थ्य सेवा दिनुपर्ने यस केन्द्रमा हाल एक जना अनमी मात्रै कार्यरत छन् ।
प्रसूतिगृह सञ्चालनका लागि सामान्यतया कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक हुने भएपनि यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै २४ घण्टा सेवा दिनुपर्ने अवस्था रहेको छ ।
भौतिक पूर्वाधार पर्याप्त भएपनि दक्ष जनशक्ति अभावका कारण सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा जम्मा १९ जनाले मात्रै सुत्केरी सेवा लिएको तथ्यांक छ । तीमध्ये ११ जना ‘सदाय’ समुदायका विपन्न महिला रहेका छन्, जो आर्थिक तथा भौगोलिक कारणले अन्यत्र जान असमर्थ थिए ।
वर्छवा स्वास्थ्य चौकीका प्रमुख महेशकुमार रजकका अनुसार विशेष गरी रातको समयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न निकै चुनौती हुने गरेको छ । यता नरहा गाउँपालिकाले भने उपलब्ध स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवाभन्दा बाहिरका प्रशासनिक जिम्मेवारीमा खटाएको देखिन्छ ।
सिनियर अहेव अरुणकुमार सिंहलाई जिन्सी शाखा प्रमुख बनाइएको छ भने बैजनाथ साहलाई वडा नं. ५ को सचिवको जिम्मेवारी दिइएको छ । साथै, अन्य तीन जना स्वास्थ्यकर्मीलाई स्पष्ट कार्य क्षेत्र नदिई स्वास्थ्य शाखामै ‘काज’मा राखिएको छ ।
यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदित्यकुमार कर्णले भने जनशक्ति अभावकै कारण यस्तो अवस्था आएको प्रतिक्रिया दिए ।
स्थानीयवासीका अनुसार प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको वास्तविक कार्य क्षेत्रभन्दा बाहिर राखिँदा दुर्गम क्षेत्रका महिलाहरू सुरक्षित मातृत्व सेवाबाट वञ्चित भइरहेका छन् ।
एक जना अनमीको भरमा सञ्चालन भइरहेको प्रसूतिगृहले कुनै पनि बेला गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीयले तत्काल आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गरी सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।




