जनकपुरधाम । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ ले मधेस प्रदेशमा बालमृत्यु, कुपोषण र शिक्षामा पहुँच सम्बन्धी अवस्था अझै चिन्ताजनक रहेको देखाएको छ ।
प्रतिवेदन अनुसार मधेसमा नवजात शिशु मृत्युदर प्रति १,००० जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो ।
कुपोषणको अवस्था समेत गम्भीर देखिएको छ । उमेर अनुसार तौल कम भएका बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका ३१.१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
शिक्षामा पनि उल्लेखनीय चुनौती देखिएको छ । विभिन्न तहमा ८ देखि २२ प्रतिशतसम्म बालबालिका विद्यालय बाहिर रहेको र प्रारम्भिक बाल शिक्षामा सहभागिता दर केवल २६.३ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य सेवामा पहुँच कमजोर देखिएको छ । नियमित गर्भवती जाँच गराउने महिलाको दर सीमित रहेको र स्वास्थ्य बिमा गर्ने संख्या पनि अत्यन्त न्यून रहेको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै, किशोरी प्रजनन दर उच्च रहनु पनि थप चुनौतीका रूपमा देखिएको छ । यद्यपि, विद्युत्, टेलिफोन र इन्टरनेट पहुँचमा भने सुधार देखिएको छ । खानेपानी पहुँच उच्च भए पनि पानीमा जीवाणु भेटिनु स्वास्थ्य जोखिमको संकेतका रूपमा उल्लेख गरिएको छ ।
सर्वेक्षणले मधेस प्रदेशमा विकास भएपनि मानव विकास सूचकाङ्कका मुख्य क्षेत्रमा अझै ठूलो सुधार आवश्यक रहेको देखाएको छ ।




