धनुषा । धनुषाको बटेश्वर गाउँपालिका ३ मा निर्माणाधीन खानेपानी आयोजनामा गम्भीर अवरोध सिर्जना भएको छ । बिहिबार राति आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि योजना सञ्चालनमा अनिश्चितता थपिएको हो ।
स्थानीय जनप्रतिनिधिका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेकै बेला ट्रान्सफर्मर हराएको पत्ता लागेको हो । वडाध्यक्ष राममणि कुशवाहाले चोरी गर्नेहरूले पोलबाट ट्रान्सफर्मर झारेर त्यसभित्र रहेका तामा निकालेर लगेको जानकारी दिए ।
ट्रान्सफर्मरको बाहिरी संरचना भने घटनास्थलमै छोडिएको अवस्थामा भेटिएको छ । उनका अनुसार ट्रान्सफर्मर नहुँदा मोटर सञ्चालन असम्भव भएकाले खानेपानी आपूर्ति सुरु गर्ने योजना तत्काल प्रभावित भएको हो ।
घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको छ भने बटेश्वर प्रहरी चौकीले अनुसन्धान अघि बढाएको जनाएको छ । संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




