काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्दै आएका पाल्पा घरका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका ११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौं महानगरपालिका १६ बस्ने नवलपरासी पूर्व घरका २६ वर्षीय अकिन बस्ताकोटी रहेका छन् ।
यस्तै गोरखा घरकी २२ वर्षीया निशा विक, काठमाडौं नागार्जुन नगरपालिका १ बस्ने लमजुङ घरका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने बहानामा फरक फरक व्यक्तिबाट ठूलो रकम उठाएका थिए । मिलन तिमल्सिनाले क्यानडा पठाइदिने भन्दै १ लाख रुपैयाँ, सिर्जना श्रेष्ठले माल्दिभ्स पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
यसैगरी अकिन बस्ताकोटीले कम्बोडिया पठाइदिने भन्दै ५ लाख ७५ हजार रुपैयाँ, निशा विकले पोर्चुगल पठाइदिने भन्दै २ लाख ६० हजार रुपैयाँ, राजेन्द्र अधिकारीले अमेरिका पठाइदिने भन्दै १२ लाख रुपैयाँ र सागर श्रेष्ठले सिङ्गापुर पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
पीडितहरूसँग रकम लिएपछि सम्पर्कविहीन बनेको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।






