सप्तरी । सप्तरीको ऐतिहासिक चन्द्रनहर क्षेत्रमा भएको अतिक्रमण हटाउन सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले अतिक्रमित जमिन खाली गराउने तयारी सुरु गरेको जनाएको हो ।
यसै सन्दर्भमा सप्तकोशी नगरपालिका–फत्तेपुरस्थित चन्द्रनहरको हेडबाँधमा हालै सरोकारवालाहरूको बैठक सम्पन्न भएको थियो । बैठकले पहिलो चरणमै नहरको डिल क्षेत्रभित्र परेका १२६ घरटहरा हटाउने निर्णय गरेको छ ।
कार्यालयले यसअघि गत चैत १६ गते सूचना जारी गर्दै सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो । तर, तोकिएको समयसीमाभित्र अतिक्रमण नहटाइएपछि थप पहलस्वरूप सरोकारवालाहरूको संयुक्त बैठक आयोजना गरिएको हो ।
कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार नहर क्षेत्रमै बसोबास गरिरहेका व्यक्तिहरूमध्ये वास्तविक सुकुम्बासीको पहिचान गरिनेछ । पहिचानपछि उनीहरूका लागि १५ दिनभित्र वैकल्पिक जग्गा छनोट गर्ने जिम्मेवारी सप्तकोशी नगरपालिकालाई दिइएको छ ।
उक्त बैठकमा सप्तरी १ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल तथा चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण महतो यादव लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।




