धनुषा । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबर चोकस्थित करिब पाँच दशकदेखि अतिक्रमणमा परेको सार्वजनिक सडक अन्तत: खाली गरिएको छ । नगरपालिकाले पूर्वसूचना जारी गरेपछि शनिबार उक्त क्षेत्रमा बनेका पक्की संरचना, घरटहरा र पसलहरू हटाएको जनाएको छ ।
नगरपालिकाका अनुसार सो सडक क्षेत्रमा लामो समयदेखि करिब २५ देखि ३० जनाले बसोबास तथा व्यवसाय सञ्चालन गर्दै आएका थिए । सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएका ती संरचना हटाइएसँगै अब उक्त सडक पुन: सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार वि.सं. २०२६ सालमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा सो सडक प्रयोगमा थियो । तर वि.सं. २०३० सालतिर दक्षिणतर्फ नयाँ सडक खुलेपछि पुरानो मार्ग प्रयोगविहीन बन्न पुगेको थियो । त्यसपछि क्रमश: स्थानीयले त्यही क्षेत्रमा घरटहरा बनाएर बसोबास र व्यवसाय सुरु गरेका थिए ।
अतिक्रमण हटाउने विषयमा स्थानीय तहले विगतमा पटक–पटक प्रयास गरेपनि विभिन्न अवरोधका कारण सफल हुन सकेको थिएन । नगर प्रमुख महेन्द्र महतोका अनुसार पछिल्ला तीन वर्षमा तीन पटक सार्वजनिक सूचना जारी गरिए पनि मुद्दा मामिला लगायतका कारण कार्यान्वयन हुन सकेको थिएन ।
हाल संघ र प्रदेश सरकारबाट सार्वजनिक सडक तथा जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन आएपछि नगरपालिकाले सोहीअनुसार कदम चालेको हो । ‘सरकारको निर्देशनअनुसार साविकको सडक क्षेत्र खाली गराइएको हो,’ नगर प्रमुख महतोले बताए । साथै सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाइने उनले उल्लेख गरे ।




