वीरगन्ज । वीरगन्जको मुख्य सडक आसपास रहेका जोखिमपूर्ण घर तथा टहरामा व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सडक डिभिजन हेटौंडाको कार्यक्रम अनुसार ६ वैशाखमा मितेरी पुलदेखि गण्डक चोकसम्मका मापदण्ड विपरीतका घर तथा टहराहरू भत्काएको र त्यसपछि कतिपय घरधनीले स्वेच्छाले संरचना हटाइरहेका छन् ।
केही स्थानमा अझै जोखिमयुक्त संरचनामा व्यवसाय सञ्चालन भइरहेको प्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा हस्ताक्षरित सूचना जारी भएको हो ।
सूचनामा त्यस्ता जोखिमपूर्ण घर टहरामा व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले यस्ता संरचनामा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी स्वयं घरधनी हुने र प्रचलित कानुनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकको निर्णयअनुसार जारी उक्त सूचनामा सम्बन्धित घरधनीहरूलाई कामदार तथा सर्वसाधारणको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह समेत गरिएको छ ।




