राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ मा रहेको अतिक्रमित सरकारी जग्गा खाली गराउन कोष तथा लेखा नियन्त्रक कार्यालय (कालेनिका) सप्तरीले पुनः ताकेता गरेको छ ।
कार्यालयले यसअघि गत पुस ३० गते नगरपालिकालाई पत्र पठाउँदै २ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन आग्रह गरेको थियो । तर, तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि नगरपालिकाले अतिक्रमण हटाउनेतर्फ ठोस पहल नगरेको जनाएको छ ।
यसैबीच कालेनिकाका प्रमुख कोष नियन्त्रक मनोजकुमार सुनुवारले गत बुधबार फेरि पत्राचार गर्दै यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । पत्रमा हालसम्मको प्रगतिबारे कुनै जानकारी प्राप्त नभएको उल्लेख गर्दै भएको प्रगतिसमेत जानकारी गराउन अनुरोध गरिएको छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले यसअघि नै छानबिन गरी टुंगो लगाइसकेको छ । आयोगको सिफारिसका आधारमा २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले पनि उक्त अतिक्रमण हटाउन नगरपालिकालाई निर्देशन दिएको थियो ।
तर, सो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । जग्गाधनी श्रेस्ता अनुसार साविक वडा नम्बर ७ (हाल ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कालेनिकाको नाममा दर्ता रहेको छ ।
तीमध्ये दक्षिणतर्फको २ कठ्ठा १४ धुर क्षेत्रफल २०५४ फागुन ११ देखि स्थानीय स्वर्गीय जगदीश झाले घरटहरा निर्माण गरी अतिक्रमण गर्दै आएका छन् । सरकारी सम्पत्तिको संरक्षणका लागि आयोगले तीन महिनाअघि नै सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न पत्राचार गरिसकेको थियो ।




