सप्तरी । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी तथा डाँका मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरू रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा खडक नगरपालिका ९ का मो. इजराईल, रफु मियाँ उर्फ रफुवा मियाँ, मो. अख्तर उर्फ अकतर र मो. जाकिरलाई पक्राउ गरिएको छ । उनीहरू चारै जनालाई अदालतले जनही १ वर्ष कैद सजाय सुनाएको थियो ।
यस्तै, खडक नगरपालिका ११ का नवीनकुमार चौधरीलाई सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय भएको छ । विष्णुपुर गाउँपालिका १ का राम यादवलाई १ महिना कैद तथा २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, सोही स्थानका रामदास यादवलाई डाँका मुद्दामा ३ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ७ वर्ष ३ महिना कैद र ३२ हजार रुपैयाँ जरिवाना असुल उपरका लागि सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।




