सिरहा । लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव जयकान्त झाले वैशाख ५ गते अवकाश पाए । त्यसपछि लहानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गाप्रसाद भूर्तेललाई पठाएको छ ।
मन्त्रालयले उपसचिव भूर्तेललाई वैशाख ८ मै सरुवा गरेको थियो । तर, केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत उनी अझैसम्म पनि नगरपालिकामा हाजिर भएका छैनन् । उनले छिट्टै हाजिर हुने भने पनि अहिलेसम्म नआएको नगरपालिकाले जनाएको छ ।
लहानमा मात्रै होइन, सिरहाका चार वटा स्थानीय तहमा मन्त्रालयद्वारा नयाँ पठाइएका प्रशासकीय अधिकृत अहिलेसम्म हाजिर भएका छैनन् । कल्याणपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएका उपसचिव विश्वरुप दाहाल पनि अझैसम्म अनुपस्थित छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत उनलाई मन्त्रालयले चैत २६ मै सरुवा गरेको थियो । यसैगरी, धनगढीमाई नगरपालिकामा पठाइएका उपसचिव मोहन निरौला पनि अहिलेसम्म नगरपालिकामा हाजिर भएका छैनन् ।
युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत निरौलालाई चैत १९ मै मन्त्रालयले धनगढीमाईमा सरुवा गरेको थियो । यस्तै, गोलबजार नगरपालिकामा स्वास्थ्य मन्त्रालयबाट पठाइएका उपसचिव रूपनारायण खतिवडा पनि अहिलेसम्म अनुपस्थित छन् ।




