सिरहा । सिरहाको गोलबजारमा ट्रकले किच्दा एक वृद्धको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा अपरिचित वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान भएको उक्त दुर्घटनाको मुख्य कारण सडकमै अव्यवस्थित रूपमा लाग्ने हाटबजार रहेको स्थानियहरुको आरोप छ । भीडभाड रहेको सडक पेटीमा हिँडिरहेका वृद्धलाई ट्रकले सामान्य रूपमा छोएपछि उनी लड्न पुगेका थिए ।
एक प्रत्यक्षदर्शीका अनुसार, ‘उहाँ पेटीमा हिँडिरहनु भएको थियो, ट्रकले ठक्कर दिएपछि भित्रपट्टि लड्नु भयो र पछाडिको चक्काले किच्यो ।’ मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।
शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । स्थानीयका अनुसार, गोलबजारमा प्रत्येक शनिबार र मंगलबार सडकमै लाग्ने अव्यवस्थित हाटबजारका कारण यस्ता दुर्घटना पटक–पटक हुँदै आएका छन् ।
स्थानीय धनेश्वर यादवले भने, ‘स्थानीय सरकार, प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको कमजोरीका कारण यस्तो घटना दोहोरिएको हो । थोक तथा खुद्रा व्यापारीहरूले सडक कब्जा गर्दा जोखिम बढेको छ ।’
नगरपालिकाले बजार व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ । व्यवसायी, किसान र सरोकारवाला बीच समन्वय अभावका कारण बजार अझै व्यवस्थित हुन सकेको छैन ।
हाल गोलबजार क्षेत्रमा थोक तरकारी व्यवसायीहरूले सडकमै ट्रक तेर्साएर सामान बेच्ने गरेका छन्, जसले सडक आवागमनमा थप अवरोध सिर्जना गर्दै दुर्घटनाको जोखिम बढाइरहेको छ ।




