बारा । बारा जिल्लासँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल र प्रहरीले संयुक्त रूपमा गरेको जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बोकेको टाटा सफारी गाडी बरामद भएको छ ।
सोमबार साँझ करिब ५ बजे भारतीय क्षेत्र स्थित बिओपी झरोखर चेकपोस्टमा नियमित रूपमा सवारीसाधन जाँच भइरहेको बेला भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन लाइनमा थिए ।
यसै क्रममा एउटा टाटा सफारी गाडीका चालक अचानक गाडी छाडेर फरार भएका थिए । शंकास्पद अवस्था देखिएपछि चेकपोस्टमा खटिएको सुरक्षाकर्मी टोली र नजिकै रहेको झरोखर प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर गाडीको सूक्ष्म जाँच गरेको थियो ।
जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको करिब साढे ३० किलोग्राम गाँजा बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोथिका सहायक कमान्डेन्ट विश्वाजित तिवारीले बताएका छन् ।
बरामद गरिएको विआर ०५ पी ७३१८ नम्बरको टाटा सफारी गाडीबाट सवारी दर्ता प्रमाणपत्र समेत फेला परेको जनाइएको छ । उक्त गाँजा झरोखर गाउँ नजिक भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा, सीमा स्तम्भ नम्बर ३५७/०३ नजिकबाट बरामद गरिएको एसएसबि प्रवक्ता बिनित कुमार सिंहले बताएका छन् ।
एसएसबि र प्रहरीले संयुक्त रूपमा गाडी तथा गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको झरोखर प्रहरीले जनाएको छ । उक्त गाँजा मकवानपुरबाट बारा जिल्लाको बाटो हुँदै भित्र्याएको भारतीय सुरक्षाकर्मीले अनुमान गरेका छन् ।






