रौतहट । रौतहटको गरुडा नगरपालिकामा कार्यरत लेखापाल सत्यनारायण सहनी विवाह समारोहमा बन्दुक पड्काएको आरोपमा विवादमा परेका छन् । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै चौतर्फी आलोचना सुरु भएको छ ।
भिडियोमा सहनी र उनीसँगै रहेका अर्का एक व्यक्ति बन्दुक पड्काउँदै गरेको देखिन्छ । गरुडा नगरपालिका ३ मलाही टोलमा आफ्ना एक नातेदारको छोरीको विवाह समारोहमा उनीहरूले बन्दुक पड्काएको जनाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बन्दुकको गोलीले ड्रोन क्यामरा फुटाएको दाबीसमेत गरिएको छ, जसबारे प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया जनाइरहेका छन् ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले सहनीसँग लाइसेन्स प्राप्त बन्दुक रहेको जानकारी दिँदै उक्त कार्यक्रममा प्रयोग गरिएको बन्दुक सोही हो वा अन्य, त्यसबारे यकिन नभएको बताएका छन् ।
“किन बन्दुक पड्काइयो, कसको विवाह थियो र कानुनी रूपमा कत्तिको उचित हो भन्ने विषयमा प्रहरी प्रशासनले छानबिन गर्नुपर्नेछ,” उनले भने । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाबारे जानकारी आएको पुष्टि गर्दै यस विषयलाई जिल्ला सुरक्षा समितिको बैठकमा उठाउने बताए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी विष्णु प्रदीप बस्यालले सामाजिक सञ्जालमा देखिएको भिडियोबारे जानकारी पाएको बताएका छन् । “गरुडा प्रहरी चौकीमार्फत थप जानकारी संकलन भइरहेको छ । हालसम्म सामाजिक सञ्जालको भिडियो बाहेक अन्य आधिकारिक विवरण प्राप्त भएको छैन,” उनले भने ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ भने अनुसन्धानपछि मात्रै थप विवरण सार्वजनिक गरिने बताइएको छ । उता, आरोपित लेखापाल सहनीसँग सम्पर्क गर्न खोज्दा हालसम्म सम्पर्क हुन सकेको छैन ।




