वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा आगोले जलेका तथा पोलेका बिरामीका लागि निःशुल्क उपचार तथा शल्यक्रिया शिविर बिहिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित बर्न तथा प्लास्टिक सर्जरी अस्पतालसँगको संयुक्त आयोजना तथा नबिल बैंकको सहयोगमा सञ्चालन गरिएको उक्त शिविर तीन दिनसम्म चल्नेछ ।
शिविरका लागि मधेस प्रदेशका सप्तरी र सिराहाबाहेकका ६ जिल्लाका २७ स्थानीय तहबाट आगोले जलेका तथा पोलेका बिरामीहरूको छनोट गरिएको छ । छनोट गरिएका ११४ जना बिरामीलाई निःशुल्क उपचार प्रदान गरिनेछ भने आवश्यक देखिएका बिरामीहरूको शल्यक्रिया पनि गरिने आयोजकले जनाएको छ । शिविरमा प्रा.डा. शङ्करमान राईको नेतृत्वमा विशेषज्ञ टोली खटिएको छ ।
टोलीमा डा. कमलराज पाठक, डा. सुरेन्द्र यादव लगायत अनुभवी स्वास्थ्यकर्मीहरू सहभागी छन् । आयोजकका अनुसार यस शिविरले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका जलेका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । नि:शुल्क उपचारमार्फत गम्भीर घाइतेहरूको जीवनरक्षा र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।




