काठमाडौं । वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन् । कान्ती लोकपथसहित देशका विभिन्न चार वटा राजमार्ग यतिबेला पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।
ललितपुरको बागमती गाउँपालिका ३ पाङ्दुर र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्जयाङ्डाँडामा पहिरो खस्दा काठमाडौंबाट हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको कान्तीलोकपथ गएरातिदेखि नै अवरुद्ध छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रीहरु बीच बाटोमै रोकिएका छन् । सवारी साधनको लाम लागेको छ । त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीस्थित इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका १० बिमिरेभन्ज्याङ्मा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको छ । त्यसैगरी भोजपुर र म्याग्दीमा पनि पहिरोले सडक एकतर्फी अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
भोजपुरको भोजपुर नगरपालिका ५ बोखिममा पहिरो खस्दा मध्यपहाडी राजमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पहिरो खस्दा बेनी-जोमसोम सडक पनि अहिले एकर्फी अवरुद्ध छन् । पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।







