रौतहट । रौतहट प्रहरीले फरार अभियुक्तहरूविरुद्ध सञ्चालन गरेको विशेष अभियान अन्तर्गत विभिन्न गम्भीर प्रकृतिको मुद्दामा संलग्न ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार खटाएको विशेष टोलीले फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, कर्तव्य ज्यान, सवारी ज्यान तथा बैंकिङ कसुर जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा विशाल महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३१ वर्षीय रामविनय चौधरी पक्राउ परेका छन् ।
यस्तै सवारी ज्यान मुद्दामा मोटरसाइकल दुर्घटनाबाट मृत्यु गराएको आरोपमा ३६ वर्षीय राम पुकार राय यादव नियन्त्रणमा लिइएको जनाइएको छ । यसैगरी, बैंकिङ कसूर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका ४४ वर्षीय जितेन्द्र कुमार जयसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् डिएसपी विष्णु प्रदीप बस्यालले बताए । यससँगै फैसला कार्यान्वयन अन्तर्गत लागुऔषध गाँजा मुद्दामा ६ महिना कैद सजाय तोकिएका ५६ वर्षीय सिक्रेन्द्र राय यादवलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
गम्भीर अपराधमा संलग्न व्यक्तिहरू लामो समयसम्म कानुनी दायराबाट बाहिर रहन नपाउने सन्देश दिँदै रौतहट प्रहरीले यस्तो अपरेसनलाई निरन्तरता दिएको डिएसपी बस्यालले बताए ।




