वीरगन्ज । बढ्दो पेट्रोलियम पदार्थको मूल्यका कारण इलेक्ट्रिक सवारीतर्फ आकर्षण बढिरहेका बेला वीरगन्जमा भएको एक घटनाले यस्ता सवारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । घरमै चार्जमा राखिएको इलेक्ट्रिक स्कुटरमा आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।
वीरगन्ज महानगरपालिका १६ नगवाका विशाल सर्राफले एक महिना अघि खरिद गरेको ‘टोनमा’ कम्पनीको इलेक्ट्रिक स्कुटरमा शनिबार राति अचानक आगलागी भएको हो । आगलागी हुँदा सर्राफसहित उनकी २६ वर्षीया श्रीमती अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर अवस्थामा पुगेका छन् ।
परिवारका सदस्यहरूलाई तत्काल उद्धार गरी वीरगन्जस्थित गण्डक क्षेत्रको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने सानो बालिकालाई एनआईसीयूमा राखेर उपचार भइरहेको छ । विशालका पिता विष्णु सर्राफका अनुसार उक्त स्कुटर वीरगन्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट करिब १ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको थियो ।
पेट्रोलको बढ्दो मूल्यबाट राहत पाउन किनेको स्कुटर नै परिवारका लागि दुर्घटनाको कारण बनेको उनले बताए । उनका अनुसार स्कुटरलाई राति चार्जमा राखेर सुतिरहेका बेला ब्याट्री पड्किँदा आगलागी भएको हो । घटनापछि परिवारले उपचारलाई प्राथमिकता दिँदै कम्पनीविरुद्ध कानुनी कारबाहीको तयारी समेत गरेको जनाएको छ ।
यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ । छिमेकीहरूका अनुसार घरभित्रै चार्ज गरिने यस्ता सवारीसाधनको सुरक्षाबारे पुन: सोच्नुपर्ने अवस्था आएको छ । उता, कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् प्रवाहमा आएको उतारचढाव (फ्लक्चुएसन) का कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
उनका अनुसार यस्तो घटना पहिलो पटक भएको हो र कम्पनीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ । स्कुटी पूर्ण रूपमा नष्ट भएको र बीमामार्फत क्षतिपूर्ति प्रक्रियाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटरमा आगलागी हुँदा चार जना घाइते भएको पुष्टि गर्दै घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए । साथै, स्कुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
नगवामा भएको यस घटनाले भविष्यको सवारीका रूपमा प्रचार भइरहेका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरहरूको सुरक्षा मापदण्डबारे गम्भीर बहस सुरु गराएको छ । विज्ञहरूले नेपालमा आयात हुने यस्ता सवारी साधनको गुणस्तर परीक्षण र नियमन कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।






