सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ५ तेतिस विगहाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका ५ का २० वर्षीय भरत कुमार मण्डल र सोही नगरपालिका १० का २१ वर्षीय जिवछ साफी रहेका छन् । उनीहरूलाई आइतबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहासमेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई करिब ८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र डिजिटल तराजुसहित नियन्त्रणमा लिएको हो ।
साथै, उनीहरूले प्रयोग गरेको स ९ प १०७ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






