धनगढी । सुकम्बासी तथा अव्यवस्थित बसोबास समस्याका विषयमा छलफल गर्न कैलालीमा आज सरोकारवालासँग छलफल हुँदैछ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै पालिकाका प्रमुख, दुई वटा डिभिजन वन कार्यालय तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग आज छलफल गर्न लागेको हो ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सङ्घीय सरकारले जिल्लामा सरकारी जग्गा अतिक्रमणको अवस्थल, भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न परिपत्र गरेपछि सवै सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरिएको हो ।
केही पालिकाले काम गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पठाएपछि सबै सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।
‘संघबाट सरकारी जग्गा अतिक्रमणको अवस्था के कस्तो छ, ऐलानी जग्गामा बसोवास गर्ने अव्यवस्थित वसोबासीको अवस्था कस्तो छ, भूमिहीन के–कतिछन् तीनको के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे परिपत्र आएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘प्रशासन एक्लैले त्यो काम गर्न सक्ने अवस्था छैन, त्यसैले के कसरी काम गर्ने, पालिकाको धारणा के छ, जिल्लाका सार्वजनिक जग्गा अतिक्रमणको अवस्था कस्तो छ, भन्ने बारेमा आज सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेका छौँ, छलफलले गर्ने निर्णयका आधारमा आगामी दिनमा काम गर्ने छौँ ।’
यसअघि कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाकामा सामान्य छलफल भए पनि कसरी जाने भन्ने निक्र्यौल नभइसकेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।






