काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ । तारकेश्वर नगरपालिका ३ स्थित जितपुरफेदी बस्दै आएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
वैशाख ११ देखि तिवारी हराएकी थिइन् । उनको शव जङ्गलमा गाडेको अवस्थामा फेला परेको हो । हत्या गरेर शव गाडेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए । उनको हत्या गरेको आरोपमा प्रहरीले टोखा नगरपालिका २ बस्ने ३५ वर्षीय अनिल डङ्गोललाई पक्राउ गरेको छ ।
आरोपीविरुद्ध अदालतबाट ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ । मृतक र आरोपी पूर्व परिचित हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको र सम्बन्धमा खटपट भएपछि हत्या गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।






