धनुषा । धनुषामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश कपिलमणि गौतमको इजलासले मिथिला बिहारी नगरपालिका १० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई जन्मकैदको फैसला सुनाएको हो । सो फैसला गत बिहीबार सुनाइएको र मङ्गलबार प्रमाणीकरण गरिएको अदालतले जनाएको छ ।
अदालतका अनुसार २०७८ फागुन २८ गते भएको घटनामा मण्डलले सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको ठहर गरिएको छ । सोही कसुरमा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ ।
फैसलामा प्रतिवादी मण्डलले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२) अन्तर्गतको कसुर गरेको ठहर गरिएको उल्लेख छ । उक्त संहिताको दफा २१९(३)(क) अनुसार पीडिता १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय सुनाइएको हो ।
अदालतका अभिलेखअनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पुर्याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए ।
मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा कसुर प्रमाणित भएको अदालतले जनाएको छ ।




